Rule 5
हानिकारक वा रासायनिक फोहरमैला निष्काशन तथा व्यवस्थापन

(१) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला अन्य फोहरमैलासँग मिसाई निष्काशन गर्न हुँदैन ।

(२) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला प्रशोधन गरी सामान्य फोहरमैला सरह भएपछि मात्र त्यसको अन्तिम निष्काशनको व्यवस्था गर्नु पर्नेछ ।

(३) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला व्यवस्थापन गर्ने दायित्व भएका व्यक्ति, संस्था वा निकायले त्यस्तो फोहरमैला उत्पादन, प्रशोधन, निष्काशन तथा व्यवस्थापन गर्न स्थानीय निकायबाट स्वीकृति लिनु पर्नेछ । यसरी स्वीकृति लिएपछि फोहरमैला व्यवस्थापन गर्दा अपनाइने तरिका, मापदण्ड, विधि, प्रविधि र व्यवस्थापन स्थलको सम्बन्धमा स्थानीय निकायलाई जानकारी गराई सोको अभिलेख राख्नु पर्नेछ ।

(४) स्थानीय निकायले उपनियम (३) बमोजिमको स्वीकृति दिंदा स्वीकृतिको लागि पेश गरिएको विधि र प्रविधि नेपाल सरकारले तोकेको मापदण्ड अनुकूल भए नभएको एकिन गरी स्वीकृति दिनु पर्नेछ ।

(५) स्थानीय निकायले उपनियम (३) बमोजिम स्वीकृति लिने व्यक्ति, संस्था वा निकायले हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला व्यवस्थापन गर्न लिएको स्वीकृति बमोजिमको तरिका, मापदण्ड, विधि, प्रविधि र व्यवस्थापन स्थल अनुसार व्यवस्थापन गरे नगरेको अनुगमन गर्नेछ ।

(६) प्रशोधन पश्चातको हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला स्थानीय निकाय मार्फत व्यवस्थापन गर्नु पर्ने भएमा फोहरमैला व्यवस्थापनको दायित्व भएको व्यक्ति, संस्था वा निकायले स्थानीय निकायलाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध भै आएमा स्थानीय निकायले सेवा शुल्क लिई उक्त फोहरमैला व्यवस्थापन गर्न सक्नेछ ।

(७) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैलाको संकलन, भण्डारण तथा स्थानान्तरण गर्दा सुरक्षित विधि अवलम्बन गर्नु पर्नेछ ।

(८) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला प्रशोधन गर्दा त्यस्तो फोहरमा रहेका हानिकारक तत्व नष्ट हुने गरी गर्नु पर्नेछ र सामान्य फोहरमैला सरह भएपछि मात्र त्यसको अन्तिम निष्काशन तथा विसर्जनको व्यवस्था गर्नु पर्नेछ ।

(९) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले त्यस्तो फोहरमैला व्यवस्थापन सम्बन्धमा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड र प्रचलित वातावरणीय कानूनको पूर्णरुपमा पालना गर्नु पर्नेछ ।